
६५६ पटक हेरिएको

काठमाडौं।बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपलिका-१० प्रगतिनगर बस्ने लमजुङ सुन्दरबजार नगरपालिका-१ घर भएका ३९ वर्षीय बिजय मिश्र र काठमाडौं महानगरपालिका-२६ रानीवारी बस्ने बाग्लुङ, बाग्लुङ नगरपालिका-१३ घर भएका २८ वर्षीय अमित पाठक रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत लमजुङको फैसलाले उक्त मुद्दामा १ दिन कैद, २ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ८ हजार रूपैयाँ क्षतिपूर्ती शुल्क भराउने सजाय ठहर भई फरार रहेका बिजयलाई काठमाडौं महानगरपालिका-१६ वनस्थलीबाट पक्राउ गरेको हो ।
साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका अमितलाई तार्केश्वर नगरपालिका-८ जरंखुबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये बिजयलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय भोटेओडार र अमितलाई प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।