५६६ पटक हेरिएको
सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका–८ स्थित सिक्टी नाकाबाट लागूऔषध ओसारपसार र तस्करी गतिविधि पछिल्लो समय बढ्दै गएको भन्दै स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सीमावर्ती उक्त नाकाबाट अवैध रूपमा लागूऔषध भित्रिने र बाहिरिने क्रम ‘निर्वाध’ जस्तै भएको उनीहरूको भनाइ छ।
स्थानीयवासीका अनुसार नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलकै मिलेमतोमा तस्करी हुने गरेको आशंका गरिएको छ। “हामीले पटक–पटक सम्बन्धित निकायलाई जानकारी गरायौं, तर कुनै सुनुवाइ भएन,” एक स्थानीयले नाम नबताउने सर्तमा भने, “सबै सेटिङमै चलिरहेको जस्तो देखिन्छ।”
सिक्टी नाका भारतसँग जोडिएको संवेदनशील सीमा क्षेत्र भएकाले यहाँ निगरानी कमजोर हुँदा लागूऔषध ओसारपसार सहज भएको स्थानीयको दाबी छ। पछिल्लो समय युवापुस्तामा यसको असर देखिन थालेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
स्थानीयले सीमा क्षेत्रमा कडाइका साथ निगरानी बढाउन, संलग्न व्यक्तिमाथि निष्पक्ष छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन्।