 
  ५७७० पटक हेरिएको
 
रंजित चौरसिया
वीरगंज । हुण्डी कारोबारीहरु सँग राज साह तेली र अजित साहले प्रहरी प्रशासनको नाममा मासिक २२ लाख लिने गरेको रहस्य उजागर भएको छ ।
प्रहरी प्रशासनले हुण्डी कारोबारीहरुको भरियाहरुलाई समातने वा अन्य कुनै प्रशासनिक समस्या भएमा हामी मध्यस्थकर्ताको भुमिका निभाई छोडाई दिने भन्दै मासिक २२ लाख लिने गरेको समाचार स्रोतले जनाएको छ । सर्लाही निवासी राजले वीरगंजको रानीघाटमा न्यु राज होजियारी फर्म खोली देखावटी रुपमा काम गर्दै आए पनि उनको मुख्य कारोबार हुण्डी संग नै जोडिएको स्रोतको कथन रहेको छ ।
हुण्डी कारोबारमा राज संग हिस्सेदार रहेका अजित साहले देखावटी रुपमा गाई पालन गर्ने गरेको स्रोतले जनाएको छ । भारतको रक्सौल निवासी अमरिस, बब्लु राज, सन्नी महतो, सोनु सर्राफ, गान्धी गुप्ता कलवार, अनुराग लगायतको हुण्डी साहुको अबैध रकम लिएर आउने भरियाहरुलाई बेला–बेलामा चौक–चौकबाट प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय पर्सा वा बारामा बुझाउंदा राज र अजितले प्रहरी कार्यालयमा पुग्ने गर्छन ।
प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरुलाई पहिला देखि नै महिनवारी निश्चित रहेको हुनाले ती जिम्मेवार व्यक्ति र राज साह बीच छलफल हुन्छ र सो छलफल पश्चात एउटा नजिर निकालेर हुण्डी भरियाहरुलाई छोडाउने काम हुन्छ । हुण्डी भरियाहरुलाई छोडाउने अभियानमा राज र अजित साहले वीरगंजका केही बैंकका म्यानेजर र मनी चेन्जरहरुलाई सेटिङ्गमा मिलाई राखेको हुनाले भरियाहरु पक्राउ परे पश्चात प्रहरीकै सल्लाहमा कहिले बैंकबाट रकम निकालेको स्टेटमेन्ट पेश गर्दछन् कहिले मनी चेन्जरबाट ल्याएको प्रमाण पेश गरेर भरियाहरुलाई छोडाउने गरेको स्रोतको भनाई रहेको छ ।
यदि कुनै बेला प्रहरीबाट भरियाहरुलाई उन्मुक्ति हुने अप्ठ्यारो भएको अवस्थामा सेटिङ्गमै जिल्ला सरकारी वकिलको कार्यालयबाट भरियाहरुलाई उन्मुक्ति दिने कार्य हुने गरेको स्रोत बताउदछन् । सरकारी वकिलको कार्यालयबाट पनि अप्ठ्यारो भएको अवस्थामा सेटिङ्गमा नै सम्मानित अदालतबाट पनि धरौटीमा छोडाउने कार्य राज र अजित साहले गर्ने गरेको बताईन्छ । बारा जिल्लाको प्रसौनी निवासी सुभाष साह तेलीले भारतीय हुण्डी कारोबारीहरु संग कुरो मिलाई राज र अजित साहको जिम्मा दिने गरेको बताईन्छ । सुभाष साहको आफ्नै भवानी मनी ट्रान्सफर रहेको छ ।
जसको खुल्ला रुपमा कही कतै कार्यालय देखिएको छैन् । उनी हुण्डीकै लागि भुमिगत तरिकाले मनी ट्रान्सफर सञ्चालन गर्ने गरेको बताईन्छ । पेशाले सुभाष शिक्षक भए पनि उनको मुख्य कारोबार हुण्डी नै हो । उनका भाई रंजित साह भन्ने रामेश्वर साह हुण्डीकै कारोबारमा संलग्न रहेको बताईन्छ । हुण्डी कारोबारीको दलालको रुपमा चर्चा पाईसकेका राज साहले बरिष्ठ प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे बीचको अडियो रेकर्ड सोमबार केही सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । सो समाचारलाई बरिष्ठ प्रहरी उपरिक्षक पाण्डेले व्यक्तिगत कारोबारको हिसाबलाई हुण्डी संग जोडेर भ्रमपूर्ण समाचार सम्प्रेण गरिएको भन्दै खण्डन गरेका छन् ।
पाठकवृन्द, यहांहरु आफै मुल्यांकन गर्नुस । राज साह तेली र बरिष्ठ प्रहरी उपरिक्षक बीच कस्तो व्यक्तिगत सम्बन्ध हुन्छ ? पटक–पटक भएको कुराकानी अडियो रेकर्ड सार्वजनिक भएको थियो । राज साह तेलीले सञ्चालन गरेको न्यु राज होजियारीमा टाई, बेल्ट, आईकार्ड, होलोग्राम, टिसर्ट, स्विटर लगायतका युनिफर्महरु बन्ने गरेको छ । के बरिष्ठ प्रहरी उपरिक्षक पाण्डेले लाखौं लाखको राज होजियारी संग युनिफर्महरु खरिद गरेका छन् त ? कस्तो व्यक्तिगत सम्बन्ध पाठकहरुलाई बुझने गरी खण्डन आईदिए राम्रो हुन्थ्यो । हुण्डी कारोबार संग जोडिएर राज, अजित र सुभाष साहले करोडौं करोड कमाएका छन् र अझ पनि कमाउने गरेको स्रोतको कथन रहेको छ । यसैबिच मंगलबार प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।
मैनाली नेतृत्वको छानबिन समितिले छानबिन गरेर प्रतिवेदन दिएपछि सोही अनुसार कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरी प्रधान कार्यालयलले जनाएको छ । अझ पनि पर्सा र बारा प्रहरी संग सुमधुर सम्बन्ध बनाएर बसेका राज, अजित र सुभाष साह माथि सम्पत्ति शुद्धिकरण विभागले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् ।
 
 
												 
												