४६औँ पर्यटक प्रहरी दिवस मनाइँदै, पर्यटक सुरक्षामा जोड

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, माघ १२, २०८१

१४६६  पटक हेरिएको

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा “४६औं पर्यटक प्रहरी दिवस, २०८१” नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । समारोहमा मन्त्री पाण्डेले पर्यटक प्रहरी कार्यमा बिशेष सहयोग पुर्‍याउनुहुने संघसंस्था एवम् व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

सो अवसरमा मन्त्री पाण्डेले पर्यटकको सुरक्षाका साथसाथै पर्यटकको समस्या एवम् गुनासो सम्बोधनमा पर्यटक प्रहरीले उत्कृष्ट व्यवहारका साथ निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । पर्यटनको प्रवर्द्धन, विकास एवम् सम्बृद्धिमा सम्बद्ध निकायहरूले उत्कृष्ट व्यवहारका साथ आ-आफ्नो क्षमता तथा दक्षता अभिवृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने पर्यटक प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पर्यटकहरूको सुरक्षा र पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने उद्देश्य सहित स्थापित पर्यटक प्रहरीले उपलब्ध साधन स्रोतको उपयोग गर्दै निर्वाह गरेको कार्य सराहनीय रहेको उल्लेख गर्नुभयो । पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा यसका लागि सबै सरोकारवाला निकायको समन्वयात्मक भूमिका अपरिहार्य रहेको समेत उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल सुन्दर मात्र हैन सुरक्षति पनि छ भनेर विश्वमाझ चिनाउन सके हाम्रो पर्यटन क्षेत्रमा थप आकर्षण पैदा हुने उल्लेख गर्दै पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखि समग्र पर्यटन क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धनमा नेपाल प्रहरी सदैव कटिवद्ध भई सेवा प्रवाह गर्ने बताउनुभयो । पर्यटक प्रहरीद्वारा सम्पादित कामकारवाही एवम् प्रदर्शित व्यवहारको प्रभाव राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत पर्ने हुँदा यसमा आवद्ध प्रहरी कर्मचारीहरूले सेवा प्रवाहको स्तर अझ बढाउँदै उच्च व्यावसायिकता र निष्ठाका साथ कार्य गर्न उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव बिनोदप्रकाश सिंह, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी र नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सीका निवर्तमान अध्यक्ष शिव अधिकारीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

पर्यटन विभागका महानिर्देशक डा.नारायण प्रसाद रेग्मीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले स्वागत मन्तव्य तथा पर्यटक प्रहरी सम्बन्धी संक्षिप्त जानकारी दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयबाट सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!