विराटनगरमा इस्कोनको दोस्रो जगन्नाथ रथयात्रा बुधबार आयोजना हुँदै

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, फाल्गुण ०५, २०८१

२७२५  पटक हेरिएको

विराटनगर। नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) विराटनगरले यही फागुन ७ गते बुधबार दोस्रो जगन्नाथ रथयात्रा आयोजना गर्ने तयारी गरेको छ। इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीले सोमबार पत्रकार सम्मेलन गर्दै रथयात्रामा ३ हजार ५ सयभन्दा बढी सनातन धर्मावलम्बीहरूको सहभागिता रहने जानकारी गराएका छन्।

यस वर्षको रथयात्रा इस्कोन नेपालका मार्ग निर्देशक महाविष्णु स्वामी महाराजको उपस्थितिमा सम्पन्न हुनेछ। भारत, थाइल्यान्ड, रुस लगायत विश्वका १० देशका ४० भन्दा बढी विशिष्ट व्यक्तिहरू र कोशी प्रदेशका सभामुख अम्मरबहादुर बिष्टसहित विभिन्न राजनैतिक दलका नेताहरू र सांसदहरूको सहभागिता रहनेछ।

रथयात्रा विराटनगर–९ जलजला रोडस्थित इस्कोन कार्यालयबाट सुरु भई नगरका विभिन्न भाग परिक्रमा गरेर पुनः कार्यालय अगाडि पुगेर समापन हुनेछ। यसपछि इस्कोन विराटनगरले जलजला रोडमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्नेछ।

सांस्कृतिक कार्यक्रममा नेपालसहित एसिया र युरोपका १० देशका भक्तजनहरूको सहभागिता रहनेछ। इस्कोन विराटनगरले ५ हजार भक्तजनका लागि बंगाली खिचडी, अचार, लालमोहन, दही, पापड र गुड पानी प्रसादका रूपमा वितरण गर्ने योजना बनाएको छ। यसका लागि आवश्यक ५ हजार पिस लालमोहन इस्कोन कार्यालयमै बनाइएको छ।

इस्कोन विराटनगरका सचिव जोशीका अनुसार रथयात्रा कार्यक्रम सम्पन्न गर्न १५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। गैर-नाफामूलक धार्मिक तथा आध्यात्मिक संस्था इस्कोनको मुख्यालय भारतको पश्चिम बंगालमा रहेको छ। नेपालमा इस्कोन २०४७ सालमा दर्ता भई हाल विभिन्न जिल्लाहरूमा शाखा कार्यालयहरू सञ्चालनमा छन्।

यसअघि, इस्कोनले २०८० साल फागुन ७ गते पहिलोपटक विराटनगरमा जगन्नाथ रथयात्रा आयोजना गरेको थियो। भक्तजनहरूको उल्लेखनीय सहभागिता र सफल आयोजनापछि यस वर्ष दोस्रोपटक रथयात्रा आयोजना गर्न लागिएको हो।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!