पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, फाल्गुण १९, २०८१

२२७०  पटक हेरिएको

काठमाडौं।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-५ पथरी घर भई ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र बाँके डुडुवा गाउँपालिका-५ कमदी घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ५२ वर्षीय पशुपती खत्री रहेका छन् ।

पक्राउ मध्ये भूमिकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रूपैयाँ र पशुपतीले १ जना पीडितबाट २ लाख २३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भूमिकालाई ललितपुर सुनाकोठीबाट आइतबार र पशुपतीलाई काठमाडौं सतुंगलबाट शनिबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!