ज्ञानेन्द्र शाहीको प्रधानमन्त्री ओलीलाई आग्रह: पूर्वराजा ज्ञानेन्द्रको विमानस्थलमा स्वागत गर्नुहोस

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, फाल्गुण २५, २०८१

२४३७  पटक हेरिएको

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न विमानस्थल जान आग्रह गरेका छन्। शाहीले कतारका राजालाई स्वागत गर्न हुने तर नेपालका राजालाई किन नहुने भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन्।

सामाजिक सञ्जालमा शाहीले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई आज काठमाडौँ विमानस्थलमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने, नेपालका राजालाई स्वागत गर्न किन नहुने? राजा सबैका साझा हुन्, प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन्।

शाहीले १६ वर्षमा देशमा लुटतन्त्र मच्चाएर नपुगेको र गाउँगाउँमा ‘छोटे राजाहरू’ रहेको आरोप लगाएका छन्। उनले ८० लाखभन्दा बढी युवाहरू विदेशमा काम गर्न बाध्य रहेको र एक वर्षमा ७ लाखभन्दा बढी युवाहरू विदेशिने गरेको तथ्याङ्क प्रस्तुत गरेका छन्।

शाहीले उद्योग र कलकारखाना बन्द गरेको, राजाको पालामा निःशुल्क उपलब्ध स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवाहरू पैसामा बिक्री गर्ने धन्दा चलाएको आरोप पनि लगाएका छन्। उनले अदालत, प्रहरी, कर्मचारी र शिक्षकलाई कार्यकर्ता बनाएको र भ्रष्टाचारले देश गन्हाएको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘तिमीहरूलाई अझै के आधारमा विश्वास गर्ने? अब तिमीहरू जस्ता भ्रष्टाचारीहरूलाई तह लगाउनका लागि एउटा संस्था चाहियो, जसलाई राजसंस्था भनिन्छ।’

शाहीले जनताको इच्छा र आकांक्षालाई बन्देज गर्ने चेष्टा नगर्न सरकारलाई चेतावनी दिएका छन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!