
१६९७ पटक हेरिएको

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई वातावरणीय प्रदूषण गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना तोकेको छ। महानगरपालिकाले आइतबार पूर्वराजाको स्वागतका क्रममा भएको प्रदर्शनमा वातावरणीय प्रदूषण भएको र सार्वजनिक स्थलमा फोहोर फैलिएको आरोप लगाएको छ।
महानगर प्रहरीले राप्रपा मुख्यालयमा पत्र लेखेर पार्टीको कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा, गौशाला, सडकपेटी, आइल्याण्ड र त्यहाँका बिरुवा र रेलिङमा भौतिक क्षति पुर्याएको र जथाभावी फोहोर फैलाएको जनाएको छ।
यो पत्र निर्वाचन आयोग र काठमाडौं महानगरपालिकाको प्रशासन विभागलाई पनि पठाइएको छ। पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गरेका छन्।
पत्रमा फोहोरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिवाना तोकिएको उल्लेख छ। यसअघि, गत मंसिर ७ मा दरबारमार्गमा नेकपा एमालेको जागरणसभामा पनि फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिवानाको पुर्जी थमाएको थियो।