१२०२ पटक हेरिएको
मोरङका सीमावर्ती क्षेत्रमा पछिल्ला वर्षहरूमा मकै खेतीतर्फ किसानको आकर्षण बढ्दो छ । रङ्गेली, सुनवर्षी, धनपालथान, रतुवामाई, कानेपोखरीलगायतका क्षेत्रमा यतिबेला किसानहरू मकै भित्र्याउन व्यस्त छन् । तर लगातारको वर्षा र बदलिँदो मौसमका कारण यस वर्ष किसानको उत्साहभन्दा चिन्ता बढी देखिएको छ ।मौसमको मार र मूल्यको अन्योलले सीमावर्ती क्षेत्रका कृषक समस्यामा
विगतका वर्षमा मकै पाक्ने समयमा पानी कम पर्ने भएकाले खेतमै सुकाएर सुरक्षित रूपमा भण्डारण गर्न सहज हुने गरेको किसानहरू बताउँछन् । यस वर्ष भने लगातारको वर्षाले खेतमै राखिएको मकै भिज्ने, कुहिने र गुणस्तर घट्ने समस्या बढेको छ ।
सुनवर्षीका किसान विजय मण्डलले समयमा मकै टिप्न नपाउँदा उत्पादनमै क्षति पुगेको बताए ।
“अघिल्ला वर्षमा मौसमले साथ दिन्थ्यो, सजिलै मकै भित्र्याउँथ्यौँ,” उनले भने, “यस वर्ष पानीले हैरान बनायो, खेतमै मकै बिग्रिने डर छ ।”
किसानहरूका अनुसार मौसम अनुकूल नहुँदा मकै सुकाउन कठिन भएको छ । भिजेको मकै व्यापारीले कम मूल्यमा किन्ने गरेका कारण उत्पादन लागतसमेत उठाउन समस्या भइरहेको उनीहरूको भनाइ छ ।
कृषि क्षेत्रका जानकारहरू भने बदलिँदो मौसमीय प्रभावले खेती प्रणालीमै असर पार्न थालेको बताउँछन् । उनीहरूले किसानलाई समयमै कटानी, सुरक्षित भण्डारण तथा मौसमको पूर्वसूचना हेरेर खेती व्यवस्थापन गर्न सुझाव दिएका छन् ।
पछिल्ला वर्षसम्म यी क्षेत्रमा गहुँ र सनपाट खेती गर्ने किसानहरू अहिले मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् । किसानहरूका अनुसार सनपाट खेतीमा मल, बिउ, सिँचाइ र मजदुरी खर्च अत्यधिक बढ्दै गएको छ भने बजार मूल्य पनि सन्तोषजनक छैन ।
स्थानीय किसान सुन्द्रालाल मण्डलका अनुसार सनपाट खेतीमा लगानी धेरै भए पनि प्रतिफल कम भएकाले किसानहरू विकल्प खोज्न बाध्य भएका हुन् । “मकै खेतीमा मेहनत र लागत बढी लागे पनि उत्पादन राम्रो हुने र बजारमा माग पनि राम्रो भएकाले किसान आकर्षित भएका छन्,” उनले भने ।
रङ्गेलीका किसान मनोजकुमार मण्डलले मजदुर अभाव र बढ्दो ज्यालादरले सनपाट खेती धान्न कठिन भएको बताए ।
“पहिले सनपाट धेरै गर्थ्यौं । अहिले खर्च धान्नै मुस्किल भयो,” उनले भने, “मकैमा लागत भए पनि आम्दानी राम्रो हुने आशाले खेती सुरु गरेका हौं ।”
किसानहरूका अनुसार पछिल्लो समय पशुपालन व्यवसाय विस्तारसँगै दानाका रूपमा मकैको माग पनि बढेको छ । यसले मकै बिक्री सहज हुने अपेक्षा बढाएको छ ।
तर मल अभाव, सिँचाइ समस्या र समयमै कृषि सामग्री नपाउने समस्या भने अझै समाधान हुन नसकेको किसानहरूको गुनासो छ । उनीहरूले सरकारले समयमै मल, बिउ तथा कृषि अनुदान उपलब्ध गराए उत्पादन अझै वृद्धि गर्न सकिने बताएका छन् ।
मकै खेती विस्तारसँगै किसानमा नयाँ आशा पलाए पनि बजार व्यवस्थापन र सरकारी सहयोग अभावले उनीहरू चिन्तित बनेका छन् । किसानहरूले बिचौलियाको घरमै पुगेर उत्पादन बेच्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
सरकारले मकैको न्यूनतम समर्थन मूल्य निर्धारण नगर्दा आफूहरू मारमा परेको किसानहरूको भनाइ छ । मल, बिउ, विषादी, मजदुरीलगायत खेतीका सबै सामग्रीको मूल्य वर्षेनी बढिरहे पनि उत्पादनको मूल्य भने व्यापारी र बिचौलियाले निर्धारण गर्ने गरेको उनीहरूको गुनासो छ ।
“हामीले दुःख गरेर उत्पादन गर्यौँ, तर मूल्य अरूले तोक्छन्,” किसानहरूको गुनासो छ, “खेतीको लागत बढिरहेको छ, तर उत्पादनको मूल्य बढ्न सकेको छैन ।”
उनीहरूले सरकारले न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, प्रत्यक्ष खरिदको व्यवस्था गर्नुपर्ने तथा किसानमैत्री कृषि नीति लागू गर्नुपर्ने माग गरेका छन् ।