४८०४ पटक हेरिएको
विराटनगर। नेपालको खास गरी तराई मधेश क्षेत्रमा बसोवास गर्ने बाँतर सरदार समुदायले आफ्नो कुल देवताको पूजापाठ गरी माघे संक्रान्ति पर्व भव्यताका साथ मनाएका छन् ।
बाँतर सरदार समुदायलले आ–आफ्नो गाउँ टोलमा समूह समूह कुलदेवताको पूजापाठ गरी विभिन्न मनोरंजनात्म नाच गानको आयोजना गरी देशैभरी माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् । सोही अवसर पारेर झापा जिल्ला मेचीनगर नगरपालिका वार्ड नं.७ काँकडभिट्टा,सुन्दर नगर गैरि गाउँमा रहेका बाँतर सारदार समुदायहरुले आफ्नो धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले कलश यात्रा सहित,तिल, च्यूरा, भूजाको लड्डु, पानफूल, सूपाडी, तुलसीको पात, धुप दिप लगायत सामग्रीले सामूहिक पूजापाठ गरी कुलदेवतालाई सुंगुर र खसीको बलि दिएर तिला संक्राईत (माघेसंक्रान्ति)पर्व धुमधामका साथ मनाएका छन् ।
माघे संक्रान्तिका दिन बाँतर सरदार समुदायहरुले आफ्नो कुल देवतालाई पूजा–आजा गरी सरदार (मुखिया) को घरमा गई गाउँका पैरजन , सदार , सलहैटयाहरु मिलेर गेंड सिंहलाई सामुहिक पूजा–आजागरी तिला संक्राईत (माघे संक्रान्ति) पर्व मनाउने परम्परा रहेको छ । पुर्खौ देखि बाँतर जातिका मानिसहरुले हिन्दु रितीरिवाज अनुसार माघ १ गते तिला संक्राईतका दिन सरदार (मुखिया) को घरमा सामूहिक पूजा गर्ने चलन रहेको बाँतर जातिका अगुवा दिलिप सरदार बाँतर र ललकि देवी सरदार बाँतरले बताए ।
पूजा सम्पन्न भएपछि सबै पैरजन सदस्यहरुलाई प्रसादको रुपमा सुंगुरको मासु बाँड्ने र सरदार (मुखिया) को घरमा मासुको परिकार बनाई सामुहिक भोज खाने प्रचलन रहेको छ । बाँतर सरदार जातिका कुलदेवता गेड सिंह सरदारलाई मान्दै आएका छन् । गेंड बाबा चमत्कारी थिए । “जहाँ दुःख त्यहाँ चमत्कारी गेंडबाबा” सुख दिन उनी चमत्कारी रुपमा देखा पर्ने गर्थै यस सम्बन्धमा एउटा भनाई प्रचलित छ । बाँतर समुदायका मानिसहरुले शिकार गर्ने क्रममा अषाढ मसान्तमा झुकिएर निल गाई मारेका थिए । त्यही निल गाई मारेकाले गौहत्या लाग्ने डरले महराज गेड सिंह सरदारको शरणमा पुगेर आफूहरुलाई गौहत्याको पापबाट मुक्त पार्नका लागि अषाढ १ गते गर्ने पूजालाई माघ १ गते बाँतर जातिले तिला संक्राईतको अवसरमा पूजा गर्न थालेको सरदार बाँतर समाज बिकास समिती झापा, नेपाल का अध्यक्ष श्री बिनोद सरदार बाँतर र कार्यक्रम संयोजक श्री राजकुमार सरदार बाँतर सरदार, सरदार बाँतर संघर्ष समिति नेपाल का उपाध्यक्ष श्री जयराम सरदार बाँतरले बताए ।
सरदार बाँतर संघर्ष समिति नेपालका अध्यक्ष रामकुमार सरदार बाँतरको अनुसार पृथ्वी नारायण साहले २२ से र २४ से राज्यलाई एकिकरण गर्नु भन्दा पहिले उदयपुरगढीमा बसोवास गरेका बाँतर सरदार समुदायका मानिसहरुले शिकार खेल्न गएका थिए । भूलबस शिकार गर्दा नील गाई मारेका थिए । निलगाई मारेको आरोपमा प्रहरी प्रशासनले कारवाही गरी मुद्दा चल्ने डरले निलगाई सेतो कपडाले छोपेर गाउँलेहरु झल्लु सरदार र भागो देवी सरदारको छोरा गेंड सिंह सरदारको सरणमा गई बचाई दिनुपर्यो भनेर विन्ती गरेपछि प्रहरी प्रशासन आएर नीलगाई छोपेको सेतो कपडा उघारेर हेर्दा सुंगुर भएपछि ती बाँतर समुदायले सोही दिन देखि सुंगुरको बलि दिएर तिला संक्राईत (माघे संक्रान्ति) मनाउने चलन चलेको
रामकुमार सरदारले बताए ।
मृत नीलगाईलाई सेतो कपडाले छोप्न लगाउने गेंड सिंह थिए । निल गाई ठूलो सुगुरको रुपमा परिणत भयो र त्यसपछि गौहत्या नभइ सुगुर हत्या भएको पुष्टि भएपछि बाँतर जातिलाई पापबाट कुलदेवता गेंड सिंह बाबाले मुक्त गरी दिएको मान्यता रहेको छ । त्यही दिनदेखि गेंड महाराजलाई आफ्नो पुर्खाको रुपमा मानी गेंड सिंहको पुस्तौ देखि गेड सिंहको पूजा गर्ने चलन रहेको सरदार बाँतर संघर्ष समिति नेपालको उपाध्यक्ष सुनिता कुमारी सरदार बाँतरले बताए ।
कुनै पनी समुदायको संस्कृति तब मात्र दिगो रहन सक्छ, जब त्यो समुदाय शिक्षा, स्वास्थ्य र आर्थिक रूपमा पनि सबल हुन्छ । अझ भनौं, संस्कृतिको शक्ति अर्थ आर्जनसँग पनि जोडिनुपर्छ । बाँतर संस्कृतिलाई समृद्ध बनाउन बाँतर लिपि, नाचगान, , बाजा, खानपान आदिलाई अब पर्यटन व्यवसायसँग जोड्नुपर्ने स्थानियहरुले बताएका छन्।
सरदार बाँतर संघर्ष समिति नेपालले आफ्नो स्थापनाकाल देखि नै समाजमा आपसी भाइचारा भावनाको विकास गर्दै बाँतर संस्कृतिको जगेर्ना र संरक्षण गर्न बाँतर जनसमुदायलाई एकतावद्ध गर्दै राजनीतिक, शिक्षा, स्वास्थ्य,आर्थिक र सामाजिक रुपमा सशक्तिकरण गर्ने उद्देश्यले देश भित्र र बाहिर सकृय रहेको यस सरदार बाँतर संघर्ष समिति नेपाल चाडै नै आफ्नो उदेश्यमा सफल हुनेछ भने आशा र विश्वासका साथ अगाडि बढ्दै छ । साथै सामाजमा बिशेष योगदान पुर्याएर समानित भएकाहरुलाई सरदार बाँतर संघर्ष समितिको महासचिव किशोर सरदार बाँतरले शुभकामना ब्यक्त गर्दै आगामीदिनमा बाँतर समुदायको हक हितको लागि काम गर्न सुझाव दिएका थिए।
माघेसंक्रान्ति पर्व बाँतर सरदार समुदायले मनाउने पर्वको रुपमा सुचीकृत गरी दिन बाँतर सरदार समुदायको युवाहरुले तिनै तहका सरकारसंग जोडदार माग गरेका छन।