रतुवामाईलाई सुन्दर नगरी बनाउने चाहना छ ;नगरप्रमुख सिंह

Logo
हरि कोइराला प्रकाशित मंगलबार, माघ ०२, २०८०

४४८९  पटक हेरिएको

रतुवामाई नगरपालिका माेरङकाे दक्षिण पुर्वमा अवस्थित ग्रामीण भुगाेल समेटेर बनेको नगरपालिका हाे । नगरपालिकामा भरखर बिकासकाे जग बस्दै गएको छ। यसनगरकाे आर्थिक समृद्धिकाे आधार पशुपालन र कृषि हाे ।पुर्वमा झापा र भारत ,दक्षिणमा भारत,पश्चिममा सुनवर्षी र उत्तरमा उर्लाबारी नगरपालिकाले घेरिएको यस नगरपालिकाका नगरप्रमुख नागेश्वरप्रसाद सिंह काेशी प्रदेशकै पाकाे जनप्रतिनिधि भित्र पर्नुहुन्छ।उमेरले ८० पुग्नै लाग्दा पनि सक्रियता साथ काम गरिरहनु भएका नगरप्रमुख सिंहसँग भएको कुराकानीकाे सारसंक्षेप ।

०निर्वाचित भएर आएपछिको १ वर्षमा भएका प्रमुख कामहरू बताइ दिनुन ?
– जनताको म्याण्डेट लिएर आएपछि हामीले जनता सामु गरेका प्रतिवद्धता अनुसार काम गरिरहेका छाैं । यसै बिच हामीले पहिलो आर्थिक वर्षको कामहरु सम्पन्न गरी अहिले दोस्राे वर्षको कामहरु गर्दै छौँ । पहिलो वर्षमा हामीले अघिल्लो कार्यकालका जन प्रतिनिधिहरुबाट करिव २४ करोड बरावरको दायित्व सिर्जना हुनेगरि विभिन्न आयोजनालाई हस्तान्तरण भएका थिए तिनीहरुलाई निरन्तरता दिई सम्पन्न गर्ने अवस्थामा पुगेका छौँ । त्यसमा विभिन्न वडाका कालोपत्रे सडक देखि वडा कार्यालय भवन पुल कल्भर्ट छन् । हामीले पहिलो वर्ष देखिनै कृषकहरुको सिंचाई महसुललाई मिनाहा गरेका छौं । त्यस्तै शिक्षा स्वास्थ्य उद्यमशिलता लगायतको क्षेत्रमा विभिन्न कामहरु गरेका छौँ ।

०रतुवामाई नगरपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउने आधारहरू के के हुन् ?

– रतुवामाई नगरपालिका कृषि प्रधान नगरपालिका हो । यसलाई समृद्ध बनाउने कृषि र पशुपालन बाहेक अन्य विकल्प छैन । तर यहाँको कृषि प्रणाली पनि पूर्ण रुपमा व्यवसायिक नभएर निर्वाहमुखी मात्र छ । अब यसलाई व्यावसायिक बनाउनु छ । नगरपालिका र माथिल्लो तहका सरकार र कृषकहरुको संयुक्त प्रयासले यहाँको कृषि उत्पादन प्रणालीलााई अझ व्यवस्थित र आधुनिकीकरण गर्दै उत्पादकत्वमा वृद्धि गरी , उत्पादन भएका चिज वस्तुहरुलाई प्रसोधन , प्याकेजिङ र बजारीकरणको व्यवस्था मिलाउन सके नागरिकको जीवन स्तर समृद्ध तर्फ लाग्थ्यो । त्यसो भए स्वतः नगरपालिका समृद्ध हुन्थ्यो । त्यसैले यहाँको मुख्य आधार कृषि नै हो यसैलाई आधार बनाएर उद्योग र पर्यटनलाई समेत जोड्न सकिन्छ । हाम्रा कार्यक्रम पनि पशुपालन र कृषिमा आधुनिकीकरणमा केन्द्रीत छन् ।

० रतुवामाई नगरपालिका अलि बढी गरिवी भएको नगर भित्र पर्छ ,नगरमा मानव संसाधन,स्वास्थ्य र शिक्षाका क्षेत्रमा भएका काम र आगामी योजना के छन् ?

वस्तवमा यहाँको भुगोल र जनसंख्याको बनोट हेर्दा पिछडीएको क्षेत्र हो । बहुसंख्यक जनसंख्या गरिवीबाट माथि उठ्न सकेको छैन । त्यसो हुनुमा यहाँको भौगोलिक तथा सामाजिक रहनसहनले पनि भुमिका खेल्दछ । रोजगारीको अभाव , निर्वाहमुखी कृषि प्रणाली अनि वित्तीय साक्षरताको कमीले वैदेशिक रोजगारी तथा विभिन्न क्षेत्रबाट आएको आय आर्जन पनि अनुत्पादक क्षेत्रमा लगाउनाले आर्थिक अवस्थामा सुधार भएको पाईदैन। तर ,यो सुधारोन्मुख छ ।

नगरपालिका मानव संशाधनको क्षेत्रमा सुधार ल्याउन उद्यमशिलता प्रबर्धन गर्ने कार्यहरु गर्दै केही मानिस तथा समुहहरुलाई उद्यमी बनाएको छ । याे कार्यक्रमलाई विस्तार र व्यवस्थित गर्दै जाने रणनीति तय गरेका छाैं । हामी यसै वर्ष नगरपालिका भित्रको रोजगारीको अवस्थालाई सुधार गर्न पञ्च वर्षीय रोजगार रणनिती तयार गर्दैछौँ ।

शिक्षामा पनि सुधार गर्दै सामुदायिक विद्यालय तर्फ विद्यार्थीहरुको आकर्षण बढ्ने गरि काम गर्दै छौँ । रतुवामाई नगरपालिकाको शिक्षा ऐनलाई संशोधन गरि कार्यान्वयनमा ल्याइएको छ । स्थानीय तहको पाठ्यक्रम स्वीकृत गरिसकेका छाैं । स्थानीय तहकाे पाठ्यक्रम आगामी शैक्षिक सत्र देखि कार्यन्वयनमा ल्याउने छौँ । त्यसैगरी ६ कक्षा सम्मका विद्यार्थीलाई निशुल्क खाजाको व्यवस्था गरेका छाैं ।६ देखि १२ सम्मका छात्राहरुलाई सेनिटरी प्याड उपलब्ध गराउँदै आएका छौँ । विद्यालयहरुमा पुस्तकालय विज्ञान प्रयोगशाला र साथै विद्यालय भवनहरुको निर्माणलाई समेत प्राथमिकताका साथ राखेका छौँ । रतुवामाईमा रहेका ३१ वटा सामुदायिक विद्यालयलाई सुधार गर्दै संस्थागत विद्यालयहरुलाई नियमन गर्दै लगेका छौँ ।

स्वास्थ्यमा १० वटै वडाबाट ल्यावसहितको सेवा प्रदान गर्दै आएका छौँ । नगर अस्पताल झुर्कियालाई सुविधा सम्पन्न बनाउन अस्पताल भवनको शिलान्यास गरि काम अघि बढाई सकेका छौँ । स्वास्थ्यमा यसै वर्ष नगरलाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गर्न सफल भयौँ ।

० नगरको आन्तरिक आर्थिक स्रोतको अवस्था कस्तो छ ?

– हो यहाँ समस्या छ । भुगोल ठुलो छ, आम्दानी सानो छ । लगभग १ करोड ५० लाख भन्दा बढी आन्तरिक आम्दानी उठ्ने संभावना छैन । हामी कहाँ प्राकृतिक श्रोतको ढुंगा गिटी वेच्ने खालका नदी,खाेलाहरु छैनन् । रतुवा र बक्राहा नदीमा भरौट वालुवा छ । त्यसको पनि बिक्री गर्न पटक पटक ठेक्का आब्हान गर्याैं ।तर,ठेक्का नलागेर नगरप्रहरी लगाएर दश लाख जति रावश्व सङ्कलन भयो । अरु सामान्य, मालपोत व्यवसाय दर्ता र सिफारीस शुल्क बाट अलि अलि आउँछ । तर यस पटक हामी नगरपालिकाको राजश्व सुधार योजना पनि बनाउदै छौँ ।

०ठूला आयोजनाहरू के छन् , जुन नगरको स्रोतबाट सम्पन्न गर्न सकिन्न ?

हामी कहाँ धेरै वटा ठूला आयाेजना छन् । हाम्रो नगरपालिका २ वटा खोलाको बिचमा रहेको छ । रतुवा र बक्राहाको स्थायी तटबन्ध बनाउन नसकेर वर्षेनि बाढीले लाखौं जनधनको क्षति हुन्छ । यसलाई तटबन्ध मजबुत बनाउनका लागि संघ तथा प्रदेश सरकार समक्ष माग गर्दै आएका छौं। त्यसैगरी राष्ट्रिय राजमार्ग जोड्ने मदन भण्डारी मार्ग र गिरिजाप्रसाद कोइरालामार्ग जुन संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका योजना हुन । त्यसको काम पनि अघि बढ्न सकेको छैन । अर्को रतुवा नदीमा रहेको पुल जसले हुलाकी राजमार्ग झापा र मोरङलाई जोड्ने गर्छ । त्यो पुल वर्षौ देखि अलपत्र थियो । यस क्षेत्रका पुर्व सांसद डा.मिनेन्द्रप्रसाद रिजालको पहलमा बजेट पारेपछि पुन काम सुचारू भएको छ । ठुला आयाेजना मुख्यतया यिनै छन, तर हाम्रो आन्तरिक आम्दानी उल्लेख्य नभएको हुँदा अन्य सार्वजानिक निर्माणको कामलाई समेत नगरको आफ्नै श्रोतबाट मात्र सम्पन्न गर्न अप्ठेरो छ ।

० नगरका चुनौति चाँही के के हुन् ?

ठुला महत्वकांक्षी आयाेजना सम्पन्न हुन नसक्नु, ठुला दुईवटा नदीमा स्थायी तटबन्ध नहुँदा बर्सेनि लाखौं रुपियाँकाे धनजनको क्षति हुनु , नगरपालिकाको स्थायी आम्दानीकाे स्राेत अत्यन्तै कम हुनु । नगरवासीको चाहाना र आवश्यकता असिमित छ । देख्ने गरि भन्दा सबैभन्दा ठुलो चुनाैति रतुवा र बक्राहा नदीको नियन्त्रण नै हो ।

० रतुवामाई नगरपालिकाबाट देशभरका पालिकाले सिक्नु पर्ने केही काम गर्नु भएको छ ?

– राम्रो कुरा जसबाट सिक्दा पनि हुन्छ । सामाजिक विकासका क्षेत्रमा हामीले केही काम गरेका छौँ । जसबाट नागरिकले प्रत्यक्ष लाभ लिईरहेका छन् । हामीले किसानको सिंचाई महशुललाई निशुल्क बनाई दिएका छौँ, अनुदानमा धान, मकै तथा तरकारीबालीको उन्नत जातको बिउ उपलब्ध गराई रहेका छौँ । २४ घण्टा निशुल्क एम्बुलेन्स र शववाहन सेवा उपलब्ध गराईरहेका छौँ । ८० वर्ष माथिका नागरिकलाई मासिक १ हजार पोषण खर्च उपलब्ध गराईरहेका छौँ । विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्न आर्थिक सहायता उपलब्ध गराइरहेका छौँ । विपन्न नागरिकको काजक्रिया खर्च स्वरुप रु १० हजार उपलब्ध गराईरहेका छौँ ।यि कामहरू सबै पालिकामा छैनन् । अरुले सिकेर गर्दा पक्कै राम्रै होला ।

० अन्त्यमा केही छुट्यो कि ?

यो सुरुवात मात्र हो । तपाईंले तपाइकाे मिडियासँग जाेड्नु भयाे । छुटेका मैले भन्न विर्सेका विषय अझै धेरै होलान । अर्को भेटलाई पनि त साँच्नु पर्यो नि । मेरा केही कुराहरु राख्न मौका दिनु अग्निपथ डटकम र तपाईलाई धन्यवाद ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!