३७५७ पटक हेरिएको
विराटनगर । देशभर सम्बन्धविच्छेद गर्नेको संख्या डरलाग्दो तरिकाले बढिरहेको छ । विवाह भएको वर्ष दिन पुगेकादेखि दशकौभन्दा बढी सहयात्रा गरेकाहरूले पनि सम्बन्धविच्छेद गरेका छन्। मोरङ जिल्ला अदालतमा आर्थिक वर्ष २०७९-०८० मा १५३२ जोडीले सम्बन्धविच्छेद गरेका छन्।
गत आर्थिक (२०७८-०७९) वर्षमा १३३७ सम्बन्ध विच्छेद भएकोमा चालु आर्थिक वर्षको साउन महिनादेखि अषार मसान्त सम्ममा १५३२ वटा सम्बन्धविच्छेद भएको जिल्ला अदालत मोरङको तथ्यांकमा देखिन्छ। यो तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष सम्बन्धविच्छेद बढी देखिएको छ।
अधिवक्ता बुद्ध कुमार श्रेष्ठको अनुसार सम्बन्ध विच्छेदको मुख्य कारण सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण सम्बन्धविच्छेद हुने गरेको बताए। श्रीमान वा श्रीमती विदेश गएको वेला, स्वदेशमै भएपनि एकअर्कालाई समय नदिदा समाजिक संजाल मार्फत अरु तिर आर्कषित हुन्छ । सामाजिक सञ्जाल मार्फत अरु व्यक्तिसँगको सम्पर्कले गर्दा श्रीमान–श्रीमती बीच झगडा हुने र सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको बताए। अहिले सबैको सामाजिक सञ्जालमा सजिलै पहुच भएको कारण श्रीमानले अरु महिला र श्रीमतीले अरु पुरुष संग बोल्दा शंका उपशंकाले सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको बताए ।
सामाजिक सञ्जालले अहिले दम्पतीबीचको भावनात्मक सम्बन्ध संकटमा परेको बताउँछन्। ‘नचिनेका मानिससँग मित्रता गाँस्दा, उसका हरेक क्रियाकलाप मन पराउँदा, लाइक र कमेन्ट गर्दा, च्याट गर्दा दम्पतीबीच शंका, उपशंका एवं अविश्वास बढाउँछ । सामाजिक सञ्जालको प्रयोग गर्दा गोपनीयताको ख्याल नगर्नाले कतिपय दम्पती सम्बन्धविच्छेदसम्म पुगेको बताए’ ।
श्रेष्ठले पछिल्लो समय नागरिक सचेत बन्दै गएको हुँदा अभाव, प्रभाव र दवाबमा सहन नसक्ने हुँदा सम्बन्धविच्छेद हुने गरेको बताए। ‘अहिले जिल्ला अदालतमा सम्बन्धविच्छेद गर्न आउनेको संख्या बढ्दो छ। मानिस सचेत बन्दै गए, पहिलेजस्तो हिंसा सहन छाडे। त्यसले गर्दा सम्बन्धविच्छेद गर्ने गरेको पाएका छौँ।’
त्यसौगरी सम्बन्धविच्छेदको अर्का मुख्य कारण वैदेशिक रोजगार भएको कानुनको बिद्यार्थी नितीश नन्दन यादवले बताए । वैदेशिक रोजगारका लागि विदेश गएका युवा घरमा आएर पैसाको हिसाबकिताब खोज्दा सम्बन्धविच्छेदसम्मको अवस्था निम्तिने गरेको यादवले बताए। अहिले श्रीमान् विदेश गएका श्रीमती बालबच्चा लिएर बजारमा बस्ने, अनावश्यक खर्च गर्ने फेसन जस्तो बनेको छ’, उनले भने, ‘विदेशमा रगत पसिना बगाएर घर फर्किदा श्रीमतीले सही हिसाबकिताब बुझाउन नसक्दा सम्बन्ध तोडिने मोडमा पुग्छ, त्यसले गर्दा विवाह भएको वर्षौँपछि पनि यहाँ सम्बन्ध विच्छेद भएका छन्।’ घरेलु हिंसा बढ्दै जाँदा सम्बन्धविच्छेद बढेको उनले बताए।
अन्तरजातीय तथा बहुविवाहको कारण पनि सम्बन्ध विच्छद हुने गरेको छ। विदेशमा गएपछि परपुरुष वा स्त्रीसँग लागेको वा शारीरिक-मानसिक यातना दिएको भन्दै सम्बन्धविच्छेदका लागि पुग्ने गरेका छन्। वैदेशिक रोजगारीमा गएका पुरुष उतै अर्को विवाह गरेर पहिलो श्रीमतीलाई सम्बन्धविच्छेद गर्न दबाब दिएका घटना पनि सार्वजनिक भइरहेको बस्नेत बताउँछन्।
‘पहिलेको तुलनामा अहिले सम्बन्धविच्छेद निकै बढ्दो छ, मोरङमा मुख्य त वैदेशिक रोजगार, अनमेल विवाह, शिक्षा र सामाजिक सञ्जालका कारण अलि बढी सम्बन्धविच्छेद हुने गरेको देखिएको छ’, उनले भने, ‘पहिले सम्बन्धविच्छेद गरेपछि विवाह गर्न समस्या हुन्छ भन्ने थियो, तर अहिले त्यो गौण बनेको छ।’
विगत झै यस वर्ष पनि सम्बन्ध विच्छेदको मुद्धा सबै भन्दा बढी दर्ता भएको मोरङ जिल्ला अदालत दायरी फाँट प्रमुख देवेन्द्र प्रसाद शहले बताए । उनका अनुसार आर्थिक वर्ष (२०७९-०८०) मा १५२२ नयाँ मुद्धा दर्ता भएको र गत आर्थिक वर्षबाट ४६१ मुद्धा सरेर जम्मा १९८३ सम्बन्ध विच्छेदको मुद्धा रहेकोमा १५३२ मुद्धा फैसला भएको बताए । जुन गत आर्थिक वर्ष भन्दा १९५ बढी छन् ।