१५९९ पटक हेरिएको
नेपालका मुस्लिम समुदायले आज बुधवार धार्मिक श्रद्धा र उत्साहका साथ मोहर्रम पर्व मनाएका छन्। इस्लामिक क्यालेन्डरको पहिलो महिना मोहर्रम मुस्लिम समुदायका लागि विशेष महत्वको मानिन्छ। यस महिनाको १० औं दिन ‘असुरा’ विशेष गरी महत्वपूर्ण मानिन्छ किनकी यही दिन सन् ६८० मा इमाम हुसैन (र.अ.) र उनका ७२ जना साथीहरुको इराकको करबलामा शहादत भएको थियो।
नेपालमा मुस्लिम समुदायले मोहर्रम पर्वलाई धार्मिक अनुशासनका साथ मनाउँछन्। यो पर्व विशेषगरी तराई क्षेत्रमा बसोबास गर्ने मुस्लिम समुदायले धुमधामका साथ मनाउँछन्। मोहर्रम पर्वको अवसरमा विभिन्न धार्मिक कार्यक्रमहरु आयोजना गरिन्छ। जसमा ताजिया जुलुस, मातम र कव्वाली कार्यक्रमहरु प्रमुख छन्।
मोहर्रम पर्वको मुख्य आकर्षण भनेको ताजिया जुलुस हो। ताजिया भनेको इमाम हुसैनको मकबराको प्रतिकात्मक स्वरुप हो। जसलाई रंगीविरंगी कपडाहरुले सजाएर जुलुस निकालिन्छ। यस जुलुसमा मुस्लिम समुदायका मानिसहरुले इमाम हुसैनको शहादतलाई सम्झँदै मातम मनाउँछन्। जुलुसमा सहभागीहरुले ‘या हुसैन’ भन्दै नारा लगाउँदै इमाम हुसैनप्रति श्रद्धा व्यक्त गर्छन्।
मोहर्रम पर्वको समयमा मातम मनाउने प्रचलन छ। मातमको क्रममा मानिसहरुले इमाम हुसैनको शहादतको घटनालाई सम्झेर आँसु बगाउँछन् र छातीमा हातले प्रहार गरेर दुःख व्यक्त गर्छन्। यसैगरी, कव्वाली कार्यक्रमहरु आयोजना गरी धार्मिक गीत-संगीतको माध्यमबाट इमाम हुसैनको बलिदानको कथा प्रस्तुत गरिन्छ।
नेपालमा मोहर्रम पर्वले धार्मिक एकता र भाइचाराको सन्देश फैलाउँछ। यो पर्वले मुस्लिम समुदायबीच आपसी सद्भाव र एकताको भावना बढाउँछ। साथै, अन्य धर्मावलम्बीहरु पनि यो पर्वमा सहभागी भएर धार्मिक सहिष्णुता र सामाजिक एकताको उदाहरण प्रस्तुत गर्छन्।
नेपालमा मनाइने मोहर्रम पर्व मुस्लिम समुदायको धार्मिक आस्था र परम्पराको प्रतीक हो। यो पर्वले इमाम हुसैनको बलिदानलाई सम्झाउने मात्र होइन, समुदायबीचको आपसी प्रेम र सद्भावलाई पनि प्रवर्धन गर्छ। नेपालजस्तो धार्मिक विविधता भएको देशमा मोहर्रम जस्ता पर्वहरुले धार्मिक सहिष्णुता र सामाजिक एकताको महत्वलाई अझ मजबुत बनाउँछ। लेखक मोहम्मद अफरोज हवारी