
२७३७ पटक हेरिएको

विराटनगर। ७४ औं वार्षिकोत्सवका अवसर पारेर विराटनगर–१६ स्थित मिल्स माविले उत्कृष्ट शिक्षक र विद्यार्थीहरूलाई सम्मानित गरेको छ । बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा स्वर्गीय योगप्रसाद उपाध्याय स्मृति उत्कृष्ट शिक्षक पुरस्कार शिक्षिका इन्दिरा गुरागाईंलाई प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नगद ११ हजार १ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
समाजसेवी प्रकाश दाहालले विद्यालयको वार्षिकोत्सवका अवसरमा हरेक वर्ष उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने गरी सो पुरस्कार स्थापना गर्नुभएको हो ।सोही अवसरमा शिक्षकहरू सुधीर यादव, ओमप्रकाश राजवंशीलगायत चारजनालाई उत्कृष्ट शिक्षक सम्मानबाट सम्मानित गरिएको थियो । मेयर कोइरालासहित महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १६ का अध्यक्ष उद्धव भुलेज, विद्यालयका प्रधानाध्यापक विन्दुकुमार लावतीलगायतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । त्यस्तै कक्षा ७ मा अध्ययनरत युनिशा कार्कीसहित एक दर्जन उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू सिर्जना हुनसक्ने बताउनुभयो । विद्यालयदेखि नै विद्यार्थीले सीपमूलक र रोजगारमूलक शिक्षा प्राप्त गरेमा उत्पादित जनशक्तिले विदेश गएर पनि राम्रो कमाइ गर्न सक्ने उहाँको भनाइ थियो । ‘अहिले दैनिक २ हजारभन्दा बढी युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । सीप नसिकी जाँदा उनीहरूले भनेजस्तो कमाइ गर्न सकेका छैनन्,’ मेयर कोइरालाले थप्नुभयो, ‘सीपमूलक शिक्षा दिन सकेमा स्वदेशमै पनि स्वरोजगार हुन सक्छन् ।
अहिलेको जमाना भनेको विश्वविद्यालयको सर्टिफिकेटले मात्रै रोजगारी प्राप्त गर्ने अवस्था छैन । हातमा कुनै न कुनै सीप हुनै पर्दछ । विद्यालय तह पार गर्दा होस् वा विश्वविद्यालय पार गर्दा होस् विद्यार्थीमा सम्बन्धित विषयमा प्रर्याप्त दक्षतासँगै सीप भएमा सहजै रोजगारी प्राप्त गर्न सक्ने अवस्था रहन्छ । नत्र भने सर्टिफिकेट बोकेर रोजगारीको खोजीमा भौतारिनुपर्ने अवस्था आउँछ ।
विराटनगर महानगरपालिकाले सबै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा ध्यान दिएको उहाँले प्रस्ट पार्नुभयो । पछिल्लो समय अधिकांश सामुदायिक विद्यालयको गुणस्तरमा सुधार हुँदै गएको चर्चा गर्दै मेयर कोइरालाले भन्नुभयो, ‘महानगरले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध कार्य गरिरहेको छ । महानगरको उद्देश्यअनुरुप मिल्स माविले पनि निकै प्रगति गरेको छ ।’ मेयर कोइरालाले गुणस्तर वृद्धिका लागि सामुदायिक विद्यालयहरू बीच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो । हरेक विद्यालयले प्रविधिमैत्री शिक्षा लागू गर्नु जरुरी रहेको मेयर कोइरालाले औंल्याउनुभयो ।
२००७ सालमा स्थापित मिल्समा हाल नर्सरी, केजी, कक्षा १, २, ६ र ७ मा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ पढाइ भइरहेको प्रअ विन्दुकुमार लावतीले जानकारी दिनुभयो । पढ्दै पढाउँदै कमाउँदै कार्यक्रमलाई विद्यालयले लागू गरेको प्रअ लावतीको भनाइ थियो । उहाँका अनुसार पढ्दै पढाउँदै कमाउँदै कार्यक्रमअन्तर्गत शिक्षक विद्यार्थी मिलेर कम्प्युटर, ल्यापटप, मोबाइल मर्मत केन्द्र सञ्चालन गरिएको छ । साथै छतमा ड्रागन खेती र विद्यालयको खाली जग्गामा केरा खेती पनि सुरु गरेको छ ।
विद्यालयले केही वर्षयता निकै प्रगति गरेको व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष उद्धव भुजेलले बताउनुभयो । मिल्स माविलाई दक्षिणी क्षेत्रको मात्रै नभएर विराटनगरकै उत्कृष्ट विद्यालय बनाउने उद्देश्यअनुसार अगाडि बढिरहेको भुजेलको भनाइ थियो ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीले विज्ञान, प्रविधि, कला र स्वास्थ्य प्रदर्शनी राखेको थियो । त्यस्तै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए । विद्यालयमा १ हजार १४६ जना विद्यार्थी अध्ययनरत छन् भने ५३ शिक्षक–कर्मचारी कार्यरत छन् ।