
४४४ पटक हेरिएको

विराटनगर।पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विजुकुमार थपलियाले जनता आदर्श बहुमुखी क्याम्पसको शैक्षिक भवनको आइतवार एक समारोहकाबीच शिलान्यास गर्नुभएको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर एक पुष्पलाल चोक स्थित जनता आदर्श क्याम्पस परिसरमा बन्ने सो भवन तीन तलाको हुनेछ । मूल्य अभिवृद्धि कर बाहेक दुई करोड ३४ लाख ५८ हजार रूपैयाँ लागतमा बन्ने उक्त भवन निर्माणको सम्झौता गत वैशाख ३० गते भएको हो ।
२०८३ साल असार २९ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भूमिस्थान÷भोलेनाथ जे. भि. कुपण्डोल ललितपुरसँग निर्माण सम्झौता भएको छ । भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै उपकुलपति थपलियाले भवन निर्माण सम्पन्न भएपश्चात कक्षा कोठा अभावको समस्या समाधान हुने बताउनु भयो । जनता आदर्श क्याम्पस परिसरमा सामाजिक कार्य अन्तर्गत स्नातक तहमा (बी.एस.डब्लयु), स्नातकोत्तर तहमा (एम.एस.डब्ल्यु), शिक्षा शास्त्र संकाय अन्तर्गत स्नातक तहमा एक वर्षे र चार वर्षे बी. एड., स्नातकोत्तर तहमा एम. एड., जनसंख्या तथा विकास केन्द्र अन्तर्गत स्नातकोत्तर तहको एम.एस.सी. पी.आर.डी. तथा कानून संकाय अन्तर्गत स्नातक तहमा तीन वर्षे एल.एल.बी., पाँच वर्षे बी. ए. एल. एल. बी. र स्नातकोत्तर तह अन्तर्गत एल. एल. एम गरी नौ वटा कार्यक्रम सञ्चालन भइरहेको छ ।