
१७५२ पटक हेरिएको

माेरङको रंगेली नगरपालिका-९ स्थित दोहमना बजार दिन प्रतिदिन खस्कँदै गइरहेको छ। प्रत्येक साताको आइतबार र बिहीबार उक्त बजार लाग्दै आइरहेको छ। बजारमा विगत २० वर्षअगाडि माेरङ, सुनसरी, झापा, संखुवासभा, भाेजपुर तथा भारतका विभिन्न स्थानहरूबाट हरेक प्रकारका सामानहरू खरिद बिक्रीवितरणका लागि सर्वसाधारणहरूको ठूलो घुइँचो लाग्ने गर्थ्यो।
कोरोनाको समयमा नेपाल सरकारले लकडाउन तथा आवतजावतमा कडाइ गरेपछि गाउँघरमै सवारीसाधनको माध्यमबाट हरेक सामग्रीहरू पुग्न थालेपछि दोहमना बजार दिनप्रतिदिन ओझेलमा पर्दै गएको स्थानीयहरूले बताए। बजारमा लत्ताकपडा, गाई, गोरु, बाख्रा, हाँस, कुखुरा तथा खाद्यान्न जस्ता सामग्रीहरूको अत्यधिक मात्रामा बिक्रीवितरण हुँदै आइरहेको थियो।
पछिल्लो समयमा नगरपालिकाले वार्षिक रूपमा उठाउँदै आएको करको दायरामा मनोपोली ढंगबाट ठेकेदारहरूले आफूखुशी असुली गर्नु र अनुहार हेरेर बढी लिँदा साना व्यापारीहरू मारमा पर्ने थालेको स्थानीय कपडा व्यापारी मनोज कुमार साहले बताए। समय समयमा जनप्रतिनिधि तथा बजार व्यवस्थापन समितिहरूद्वारा अनुगमन नहुँदा ठेकेदारहरूको मनपरी ढंगबाट रकम असुली गरेको व्यापारीहरूले बताए।
अहिले प्रदेश सरकारले बजार व्यवस्थापनका लागि ७० वटा सटर निर्माण गरेको र ९ वटा टहरा निर्माणकार्य जारी छ।