विशेष आवश्यकता शिक्षा सम्बन्धी कार्यशाला सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, आषाढ २०, २०८२

७८५  पटक हेरिएको

विराटनगर।पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पसले विशेष आवश्यकता शिक्षा शिक्षा सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अटिजम सेन्टर लगायतका विशेष शिक्षा प्रदान गर्दै आएका संघ संस्थालाई सहभागी गराएर क्याम्पसले कार्यशाला गरेको हो । नेपालको संविधान २०७२ ले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तह सम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भन्ने कुरा उल्लेख भएपनि विशेष क्षमता भएका बालवालिकालाई अध्यापन गराउने दक्ष शिक्षकको अभावमा संविधानको यो व्यवस्था पूर्ण रुपमा लागू हुन सकेको छैन् ।

कार्यशालामा विशेष आवश्यकता शिक्षाको महत्व र आवश्यकताका विषयमा जानकारी गराइएको छ । दक्षिण कोरियाको लुपिक प्रोजेक्टको सहयोगमा जनता आदर्श बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकाय अन्तर्गत स्नातक तह (बी.एड.) मा विशेष आवश्यकता शिक्षाको अध्यापन हुँदै आएको छ । विशेष आवश्यकता शिक्षाको महत्व र आवश्यकताको विषयमा प्रकाश पार्दै प्रमुख अतिथिको आशनबाट बोल्दै कला, कानून तथा शिक्षा संकायका डीन राम प्रसाद ढकालले माध्यामिक तहको शिक्षामा सबैको पहुँच पु¥याउने संविधानको व्यवस्था कार्यान्वयन हुने बताउनु भयो ।

क्याम्पस प्रमुख महेश प्रसाद निरौलाले दक्षिण कोरियाको लुपिक परियोजनाले दुई जना विद्यार्थीलाई वार्षिक एक सय ५० अमेरिकी डलर छात्रवृत्ति दिदै आएको जानकारी दिनुभयो । लुपिक परियोजनासँग वार्षिक तीन हजार डलरको छात्रवृत्ति माग गरेको र त्यसमा परियोजनाले सकारात्मक आश्वसन दिएको क्याम्पस प्रमुख निरौलाको भनाई छ ।विद्यार्थी आदानप्रदान कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष विशेष आवश्यकता शिक्षा अध्ययनरत दुई जना विद्यार्थीलाई कोरिया लगेर त्याहाँको शैक्षिक गतिविधिको जानकारी गराउँदै आएको लुपिक परियोजनाले शिक्षक आदानप्रदान कार्यक्रम अन्तर्गत एक जना प्राध्यापकलाई प्रत्येक वर्ष दक्षिण कोरिया लगेर त्याहाको शैक्षिक गतिविधि, शिक्षण विधि, शैक्षिक व्यवस्था लगायतका विषयमा जानकारी गराउँदै आएको छ ।

गत जेठमा दक्षिण कोरियाको १० दिने भ्रमण पुरा गरी नेपाल फर्किएका युनिसा ढुङ्गेल र अविसा खड्काले कोरिया भ्रमणको अनुभव सुनाएका थिए । प्राध्यापक आदानप्रदान कार्यक्रम अन्तर्गत दक्षिण कोरियाको शैक्षिक भ्रमण गर्नुभएका प्राध्यापक आदानप्रदान कार्यक्रम अन्तर्गत गत वर्ष कोरिया भ्रमण गरी आउनु भएको क्याम्पसका सहायक प्राध्यापक दिपेस बास्तोला र उपप्राध्यापक उत्तम राईले दक्षिण कोरियाको शिक्षण विधि, दक्षिण कोरिया भ्रमणको अनुभवका विषयमा जानकारी गराउनु भएको थियो ।

बास्तोला, राई र डा. नागेश्वर प्रसाद सिंहले विशेष आवश्यकता शिक्षाको आवश्यकता र महत्वका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । अनमोल अटिजम सेन्टरकी प्रिन्सिपल संगीता न्यौपाने, विराटनगर महानगरपालिकाले सञ्चालन गरेको विराटनगर अटिजम सेन्टरकी प्रमुख रश्मी निरौला र सिरमा कोइरालाले फरक क्षमता भएका विद्यार्थीहरुलाई शिक्षा दिन विशेष आवश्यकता शिक्षा पढेका दक्ष जनशक्ति अभाव रहेको बताउनु भयो ।

पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले विशेष आवश्यकता शिक्षको चार वर्षे बी.एड., शिक्षामा स्नातकोत्तर (एम.एड.), सामाजिक कार्य विषयमा स्नातक (बी.एस.डब्ल्यु.) र स्नातकोत्तर (एम.एस.डब्ल्यु.) तहको अध्यापन गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!