आयरल्याण्ड र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, जेठ ०१, २०८२

८५५  पटक हेरिएको

काठमाडौं।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी आयरल्याण्ड र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ घर भएका ३५ वर्षीय प्रेम बहादुर साउद र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने सुर्खेत सिम्ता गाउँपालिका-८ घर भएका २१ वर्षीय ललित बोहरा रहेका छन् ।

पक्राउ मध्ये प्रेम बहादुरले आयरल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४१ लाख ९० हजार रूपैयाँ र ललितले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रेम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार र ललितलाई ललितपुर महानगरपालिका-३ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!