महाकालीको माछा बेचेर जीविका चलाउँदै

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, जेठ २१, २०८२

१५४१  पटक हेरिएको

कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउँछिन् । महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छिन् ।

माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताइन् । उनले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्छिन् । त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गर्छिन् ।

“ताजा माछाको माग बढी हुन्छ,” राईले भनिन्, “ग्राहकलाई पुर्‍याउनै सक्दैनौँ ।” सानो माछा प्रतिकिलो रु २५० र ठुलो माछा रु ३०० मा बिक्री हुन्छ । उनको माछा मार्ने तरिका भने भिन्नै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अलिकति पीठो राख्नु हुन्छ । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्नुहुन्छ । नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको भनाइ छ ।

माछा बिक्री गरेर महिनामा रु ३० हजारदेखि रु ३५ हजारसम्म कमाई हुने गरेको राईले बताइन्। उनीसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उनले माछा बिक्री गरेको आम्दानीले धान्ने गर्छिन् । माछा मार्न उनी समूह बनाएर जाने गर्दछिन् ।

महाकाली नदी जीविका चलाउने एक मात्रै साधन भएको राईसँगै माछा मार्दै आएकी पार्वती चौधरी बताउँछिन् । घरको सबै खर्च माछा बिक्रीबाट आएको आम्दानीले धानिएको उनले बताइन् । “विगतको तुलनामा नदीमा थोरै माछा पाइन्छ, माछाको खोजीमै दिन बित्छ”, चौधरीले भनिन् । महाकालीमा महासिर, सिलर, रैना, असला, मगरीलगायत जातका माछा पाइन्छन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!